
धरानमा चिसोले गयो सडक मानवको ज्यान
सुनसरी- सुनसरीको धरानमा अत्यधिक चिसोका कारण एक जना सडक मानवको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–८ स्थित कञ्चनजंगा होटल नजिकै सडकको नालीमा खसेका सुरज नाम गरेका व्यक्तिको ज्यान गएको हो।
सोमबार बिहान स्थानीयले नालीभित्र एक जनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनापछि घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय धरानको टोलीले घटनास्थलको मुचुल्का उठाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा अत्यधिक चिसोका कारण शरीर कठ्याङ्ग्रिएर सुरजको मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरले जानकारी दिए। उनका अनुसार सुरज लामो समयदेखि सडक पेटीमै बस्दै आएका थिए। जाडोबाट जोगिन पर्याप्त न्यानो कपडा नहुँदा उनी चिसोको मारमा परेको देखिन्छ।
प्रहरीका अनुसार मृतक सुरज पहाडी जिल्लाबाट धरान आएर गाडी चलाउने काम गर्दै आएका व्यक्ति हुन्। तर मादक पदार्थ सेवनको कुलतमा फसेपछि उनी पारिवारिक तथा सामाजिक सम्पर्कबाट टाढिँदै सडक जीवनमा पुगेको बताइएको छ।



कागजपत्र |
