नाबालिकाको चरित्र हत्या गरेकाे आरोपमा धनगढीका युवक पक्राउ


काठमाडौं – नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नक्कली सामाजिक सञ्जाल प्रयोग गरी नाबालिकासँग मित्रता गाँसेर नग्न तस्बिर तथा भिडिओ माग्ने र ती सामग्री प्रयोग गरी दबाब तथा प्रभावमा पार्दै चरित्र हत्या गरेको आरोपमा कैलालीका एक युवक पक्राउ परेका हुन्।

साइबर ब्युरोका प्रहरी उपरीक्षक दिपकराज अवस्थीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका निवासी २७ वर्षीय सन्दिप चन्दलाई पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा चन्दले नक्कली सामाजिक सञ्जाल खाता प्रयोग गरी नाबालिकासँग साथी बनेर नग्न तस्बिर तथा भिडिओ माग गरेको खुलेको छ।

प्रहरीका अनुसार आरोपीले विभिन्न दबाब र प्रभाव प्रयोग गर्दै नाबालिकालाई नियमित रूपमा अश्लिल गतिविधि गर्न बाध्य पारेको आरोप छ। नाबालिकाले त्यस्तो गतिविधि गर्न अस्वीकार गरेपछि उनले ती तस्बिर तथा भिडिओ विद्यालयका साथीहरू र आफन्तहरूलाई पठाई चरित्र हत्या गरेको आरोप लागेको छ।

अनुसन्धानबाट सन्दिप चन्द नै उक्त घटनामा संलग्न रहेको पुष्टि भएपछि साइबर ब्युरोको टोलीले उनलाई कैलालीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया