विदेशमा तालिम लिएका करिब ३०० नेपाली पाइलट बेरोजगार : शिक्षामन्त्री पुन


काठमाडौं– शिक्षामन्त्री महावीर पुनले विदेशमा पाइलट तालिम लिएर फर्किएका करिब ३०० जना नेपाली पाइलट नेपालमै बेरोजगार अवस्थामा रहेको बताएका छन्।

मन्त्री पुनले एक अभिभावकले आफ्नो सन्तानलाई पाइलट तालिम गराउन करिब ७० लाख रुपैयाँ खर्च गरेको जानकारी दिएको उल्लेख गर्दै नेपालमा पाइलटको माग र अवसर सीमित रहेको बताए। उनका अनुसार हाल नेपालमा सञ्चालनमा रहेका विमानको संख्या करिब ३५ मात्र भएकाले सबै प्रशिक्षित पाइलटलाई रोजगारी उपलब्ध गराउन सक्ने अवस्था छैन।

सीमित विमान संख्या र रोजगारीका अवसरलाई ध्यानमा राख्दै मन्त्री पुनले पाइलट तालिममा ठूलो रकम लगानी गर्नुअघि अभिभावक र विद्यार्थीले गम्भीर रूपमा सोचविचार गर्नुपर्नेमा जोड दिए। “ठूलो लगानी गरेर तालिम लिएका धेरै युवाहरू रोजगारी नपाएर समस्यामा परिरहेका छन्,” उनले भने।

शिक्षामन्त्री पुनले शिक्षा र तालिमलाई देशको आवश्यकतासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै सरकारले सीप विकास र रोजगारीबीचको सन्तुलन मिलाउने नीति ल्याउनुपर्ने बताए। उनले अभिभावक र युवालाई केवल आकर्षणका आधारमा नभई सम्भावना र बजारको अवस्था बुझेर मात्रै व्यावसायिक तालिम रोज्न आग्रह गरे।

प्रतिक्रिया