कतारका लागि चितवनबाट बिदा भए खगेन्द्र र रूद्रकली


चितवन-  नेपाल सरकारले कतार सरकारलाई कूटनीतिक उपहारस्वरूप प्रदान गर्न लागेको हात्ती जोडी चितवनबाट बिदा गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीलाई सोमबार औपचारिक रूपमा बिदाइ गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

नेपाल सरकारले आगामी पुस २ गते भैरहवामा कतार सरकारलाई हात्ती औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारी गरेको छ । हात्तीको हावापानी अनुकूलता, स्वास्थ्य अवस्था र सुरक्षित ढुवानीलाई ध्यानमा राख्दै भैरहवाबाट हस्तान्तरण गर्ने निर्णय गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार खगेन्द्रप्रसाद र रुद्रकलीलाई चितवनबाट विशेष ट्रकमार्फत भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइनेछ । त्यसपछि पुस २ गते कतार एयरवेजको चार्टर फ्लाइटमार्फत दुवै हात्तीलाई सिधै कतार पठाइने तयारी छ ।

बिदाइ कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हात्ती उपहारले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुग्ने बताए । “यो उपहारले नेपाल–कतार सम्बन्धलाई थप मजबुत बनाउँछ, त्यसैले निराश हुनुपर्ने कुनै अवस्था छैन,” उनले भने ।

कतार पठाइने खगेन्द्रप्रसाद भाले हात्ती हाल छ वर्षको र रुद्रकली पोथी हात्ती सात वर्षकी छन् । दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जमै जन्मिएका र हुर्काइएका हुन् ।

गत विसं २०८१ वैशाखमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका क्रममा नेपाल सरकारले कतारलाई एक जोडी हात्ती उपहार दिने घोषणा गरेको थियो । सोही निर्णयअनुसार अब हात्ती हस्तान्तरणको अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया