
मानव अधिकारको सबैभन्दा ठूलो शत्रु भ्रष्टाचार: प्रधानमन्त्री कार्की
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार रहेको स्पष्ट खुलासा गरेकी छन्। ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारलाई केवल आर्थिक गडबडीको घटना नभई प्रत्यक्ष मानव अधिकार हननको रूपमै व्याख्या गरिन्।
उनका अनुसार भ्रष्टाचारले विपन्न, अशक्त र वञ्चित समुदायका नागरिकको मौलिक अधिकार खोसिने भएकाले यसको प्रभाव अत्यन्तै गम्भीर हुन्छ। “मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै हो। जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छन्,” कार्कीले भनिन्।
प्रधानमन्त्री कार्कीले पारदर्शिता, जवाफदेहिता र सुशासनबिना मानव अधिकार सुरक्षित रहन नसक्ने स्पष्ट पार्दै सरकार भ्रष्टाचारविरुद्ध ‘जुनसुकै हदको कठोर कदम’ चाल्न तयार रहेको बताइन्। “सरकार दृढतापूर्वक अघि बढिरहेको छ,” उनको भनाइ थियो।
यस वर्ष संयुक्त राष्ट्रसंघले मानव अधिकार दिवसको नारा “मानव अधिकार, हामी सबैको अपरिहार्य आधार” तय गरेको छ।
सम्बोधनमा प्रधानमन्त्री कार्कीले मानव अधिकारको आधुनिक अवधारणा बाँच्न पाउने अधिकार र स्वतन्त्रताभन्दा पर गएर जीवनको सम्पूर्ण सम्मान, समावेशीता र समान पहुँचका आधारमा विस्तारित भएको उल्लेख गरिन्। उनले भनिन्, “अब मानव अधिकार भनेको केवल जीवित रहनु मात्र होइन, आत्मसम्मानका साथ बाँच्न पाउनु, राज्यका निर्णयमा प्रश्न गर्न पाउनु, स्वच्छ वातावरणमा रमाउने मौका पाउनु, र डिजिटल विश्वसँग समान र स्वच्छ पहुँच पाउनु पनि हो।”
प्रधानमन्त्री कार्कीले युवाहरूको डिजिटल अधिकार, गोपनीयता, नवप्रवर्तन र सिर्जनात्मकता नीतिनिर्माणदेखि कार्यान्वयनसम्म समाहित गर्न सरकार प्रतिबद्ध रहेको समेत बताइन्।



कागजपत्र |
