ठेक्का लागिसकेका आयोजनाको बजेट कटौती हुँदैन : अर्थमन्त्री खनाल


काठमाडौं-  अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ठेक्का लागिसकेका आयोजनाको बजेट कटौती नहुने स्पष्ट पारेका छन्।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सदस्यहरूले आयोजना बजेट कटौतीसम्बन्धी असन्तुष्टि व्यक्त गरेपछि मन्त्री खनालले ठेक्का लागिसकेका र काम प्रारम्भ भइसकेका परियोजनामा बजेट कटौती नहुने कुरा दोहोर्‍याए।

उनले ग्रामीण र प्राथमिक क्षेत्रमा जाने कर्जा प्रभावित भएकाले तरलता बढेको भन्दै यस्ता समस्याहरू समाधान गरिने जानकारी दिए।

मन्त्री खनालले संसाधनको सीमितताका कारण स्थानीय तथा प्रदेश सरकारले खर्च गर्न नसकेको रकम संघीय सरकारले उपयोग गरेको र यसले व्यवस्थापनमा केही सहजता ल्याएको पनि उल्लेख गरे।

साथै, उनले सरकारी कोषको दुरुपयोग रोक्न पदाधिकारीको सेवा सुविधा कटौती गरिएको र यसले पर्ने असरबारे छलफल गर्न सरकार तयार रहेको पनि जानकारी दिए।

बैठकमा समितिका सदस्यहरूले आयोजना कटौती, सांसद सेवा सुविधा कटौती लगायतका विषयमा चासो व्यक्त गरेका थिए।

प्रतिक्रिया