विश्व पावरलिफ्टिङमा नेपाल ४१ पदकसहित उत्कृष्ट टोली घोषित


काठमाडाैं- श्रीलंकामा सम्पन्न विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै २६ स्वर्ण, १० रजत र पाँच कास्यसहित कुल ४१ पदक हासिल गरेको छ। प्रतियोगितामा १२ देशका २०० भन्दा बढी खेलाडी सहभागी भएका थिए।

नेपालका डा. जितेन्द्रकुमार साह र भेषकुमारी अस्लामीले उत्कृष्ट प्रदर्शन गर्दै आ–आफ्नो वर्गमा दोहोरो स्वर्ण पदक जित्न सफल भए। जितेन्द्रले ६९ केजी बेन्च मास्टर्स (४०–४४) र ६९ केजी डेडलिफ्ट मास्टर्स (४०–४४) मा स्वर्ण जिते भने मास्टर्स ६९ थ्री–लिफ्टमा रजत पदकसमेत थपे। भेषकुमारीले ७२ केजी मास्टर्स तथा खुला दुवै समूहमा स्वर्ण जितिन्।

यसैगरी, रमेश श्रेष्ठले पुरुष मास्टर्स बेन्च (४५–४९) र लक्ष्मी श्रेष्ठले महिला मास्टर्स बेन्च (४०–४४) मा स्वर्ण पदक दिलाए। अर्चना मानन्धरले महिला बेन्च (४०–४४) मा स्वर्ण र ५३ केजी खुला समूहमा रजत जितिन्।

पुरुष ६९ केजी खुला समूहमा शुकदेव कार्कीले स्वर्ण पदकसँगै पुरुषतर्फ ‘वेस्ट लिफ्टर’ को उपाधि हात पारे। उनले २४० केजी स्क्वाट, १३८ केजी बेन्च प्रेस र २६४ केजी डेडलिफ्ट गरी कुल ६४२ केजी वजन उचालेर उपाधि जिते।

महिलातर्फ शर्मिला शाह ‘वेस्ट लिफ्टर’ घोषित भइन् भने जुनियर गर्ल्सतर्फ कल्पना खत्री उत्कृष्ट लिफ्टर चुनिइन्। प्रतियोगितामा नेपाल महिला तथा पुरुष दुवै समूहमा ‘सर्वश्रेष्ठ टोली’ घोषित भयो।

प्रतिक्रिया