उत्तराखण्डमा बस खस्यो, ३५ जना सवार


काठमाडाैं- भारतकाे उत्तराखण्डस्थित  टिहरी जिल्लाको नरेन्द्रनगर क्षेत्रअन्तर्गत कुञ्जापुरी–हिंडोलाखाल सडकखण्डमा बस दुर्घटना भएको छ। यात्रुबाहक बस अनियन्त्रित भई करिब ७० मिटर गहिरो खोंचमा खसेको पुष्टि गरिएको छ। बसमा ३०–३५ जना यात्रु सवार रहेको अनुमान गरिएको छ।

दुर्घटनाको सूचना प्राप्त भएपछि  सेनानी एसडीआरएफका अर्पण यदुवंशीको निर्देशनमा ढालवाला पोस्ट, कोटि कलोनी पोस्ट र एसडीआरएफ मुख्यालयबाट गरी ५ वटा उद्धार टोली तुरुन्तै घटनास्थलतर्फ गएका छन्।

घटनास्थलबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार हालसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन्। घाइतेहरूलाई खोंचबाट निकालेर उपचारका लागि नजिकका स्वास्थ्य संस्थाहरूमा पुर्‍याउने कार्य जारी छ।

धेरै यात्रु गम्भीर घाइते रहेकाले मृतक संख्या अझै बढ्न सक्ने आशंका जनाइएको छ। उद्धार कार्य निरन्तर जारी छ र दुर्घटनाबारे थप विवरण सङ्कलन भइरहेको जनाइएको छ।

प्रतिक्रिया