
प्रधानमन्त्रीको सचिवालयले भन्यो- नातेदार नियुक्तिकाे आरोप असत्य
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा पारिवारिक तथा नातेदारका व्यक्तिहरूलाई नियुक्त गरेको भन्ने समाचार सार्वजनिक भएसँगै प्रधानमन्त्रीको निजी सचिवालयले उक्त विषयमा स्पष्टीकरण दिएका छ। लगातार आलोचना बढेपछि सचिवालयले विज्ञप्ति जारी गर्दै आरोपहरू असत्य, मनगढ़न्त र नियोजित रूपमा फैलाइएको जनाएको छ।
प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नो श्रीमतीसहित परिवारका सदस्य र नातेदारलाई सचिवालयमा नियुक्त गरेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले राज्यकोषमा कम भार पार्ने उद्देश्यले सचिवालय न्यूनतम जनशक्तिबाट सञ्चालन गरिएको प्रष्ट पारेका छन्। ६७ दरबन्दी रहेको सचिवालयलाई विगतका सरकारले अधिकांश पदले भरिदिने गरेकामा कार्कीले केवल २० जनाको सानो टोलीमार्फत सचिवालय सञ्चालन गरिरहेको उल्लेख गर्दै व्ययभार अत्यन्त कम भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
सचिवालयका अनुसार प्रमुख स्वकीय सचिवमाथि थर र जातीय पृष्ठभूमि मिलेको आधारमा जबरजस्ती नातेदारी जोडेर लाञ्छना लगाइएको छ। यो प्रकारको ‘नियोजित बदनाम अभियान’ ले भ्रम सिर्जना भएको र त्यसो नगर्न अनुरोध गरिएको छ।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रावलका अनुसार प्रधानमन्त्रीको परिवारमा श्रीमान् मात्रै रहेका कारण पारिवारिक सहयोग पुर्याउन सक्षम, विश्वासिलो र वृद्ध उमेरका कारण चौबीसैै घण्टा साथमा रहन सक्ने व्यक्ति नियुक्त गरिएको हो। सुरक्षा र कार्यसूचीका कारण प्रधानमन्त्रीसँग नजिकबाट समन्वय गर्नुपर्ने भएकाले विश्वासिलो र कानुनसम्मत रूपमा छनोट गरिएका व्यक्तिलाई नियुक्त गर्दा अन्यथा व्याख्या नगरिएको सचिवालयको आग्रह छ।




कागजपत्र |
