
संसद पुनर्स्थापनाको मागले मुलुक अस्थिर बन्छ : प्रधानमन्त्री कार्की
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई सफल, शान्तिपूर्ण र भयरहित बनाउन राजनीतिक दलहरुलाई सन्देश दिँदै संसद् पुनःस्थापनाको माग र निर्वाचन बहिष्कारजस्ता गतिविधिले मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्ने चेतावनी दिएकी छन्।
सिंहदरबारमा राजनीतिक दलका प्रतिनिधिसँग बोल्दै कार्कीले आफ्नो सरकार युवा पुस्ताको जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारविरुद्धको असन्तुष्टिको आधारमा बनेको उल्लेख गर्दै संविधानले दिएको निकास निर्वाचन भएकाले लोकतन्त्रमा विश्वास गर्ने दलका लागि चुनावबाट भाग्ने विकल्प नभएको दोहोर्याइन्।
उनले मंसिर १० भित्र निर्वाचन आयोगमा दल दर्ता अनिवार्य गराउन आग्रह गर्दै दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि शक्ति लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिने चेतावनी दिइन्।
पछिल्लो समय बढेको द्वेषपूर्ण अभिव्यक्ति, हेट स्पीच र राजनीतिक आचारसंहिताको उल्लङ्घनले वातावरण बिगारिरहेकाले तत्काल र सार्वजनिक कारबाही गर्न सरकार तयार रहेको बताउँदै उनले निर्वाचन आयोग सुदृढीकरण, खर्च कटौती र प्रचार अवधि २१ दिनमा सीमित गर्ने निर्णय लागू गरिने स्पष्ट पारिन्।
जेनजी आन्दोलनका घटनाको निष्पक्ष छानबिन भइरहेको र अध्यादेशमार्फत् निर्वाचन कानुन परिवर्तन गरी युवाको सहभागिता बढाइने उनले बताइन्। आसन्न निर्वाचन लक्षित सुरक्षालाई उच्च प्राथमिकता दिँदै राजनीतिक विवाद चर्किएका तथा संवेदनशील जिल्लालाई ‘हटस्पट’ घोषणा गरिएको, सादा पोशाकका सुरक्षाकर्मी तथा गुप्तचर परिचालन गरिएको र अराजक समूह तथा भागेका कैदीबन्दीबाट हुन सक्ने जोखिम रोक्न विशेष निगरानी बढाइएको उनले जानकारी दिइन्।
संसद् पुनःस्थापनाको अडानले विगतका राजनीतिक दुर्घटना दोहोर्याउने मात्र भएकाले अबको बहस संवैधानिक निकास अर्थात् निर्वाचनमै केन्द्रित हुनुपर्ने उनको भनाइ छ। दलहरुलाई राष्ट्रिय सहमतिका लागि एकजुट हुन आह्वान गर्दै कार्कीले इतिहासको यो क्षण राजनीतिक नेतृत्वको इमानदार परीक्षणको समयमा भविष्यले पनि मूल्यांकन गर्ने टिप्पणी गरिन्।



कागजपत्र |
