
विशाल लक्ष्यसामु पोखरा निरिह, विराटनगर ५३ रनले विजयी
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । विराटनगरको उच्चस्तरीय ब्याटिङ र धारिलो बलिङ सामु पोखरा निरिह बन्न पुग्यो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा पोखरासामु एनपीएल इतिहासकै सबैभन्दा ठूलो २२१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। विशाल स्कोर पछ्याउने क्रममा पोखरा एभेन्जर्स १८ ओभर ५ बलमा १६७ रनमा समेटियो, जसले विराटनगरलाई फराकिलो जित दिलायो।
विराटनगरको जितमा ओपनर लोकेश बम र मार्टिन गुप्टिलको शानदार अर्धशतकीय साझेदारी निर्णायक बन्यो। लोकेश बमले सर्वाधिक रन बनाउने क्रममा ४८ बलमा एक चौका र सात छक्काको सहयोगमा ७२ रनको आक्रामक इनिङ्स खेले। यस्तै, मार्टिन गुप्टिलले पनि ३५ बलमा तीन चौका र पाँच छक्कासहित ६१ रनको योगदान दिए। अन्य ब्याटरतर्फ शुभम रञ्जनेले ३८ र बसिर अहमदले २३ रन जोडे।
विराटनगरका ब्याटरहरूले पोखराका बलरहरूलाई कुनै राहत दिएनन्, उनीहरूले सामूहिक रूपमा १० चौका र १७ छक्का प्रहार गरे। पोखराका कुनै पनि बलर किफायती बन्न सकेनन्।
जवाफी ब्याटिङमा, पोखराका कप्तान कुशल भुर्तेलले अर्धशतक प्रहार गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ३१ बलमा पाँच चौका र चार छक्कासहित ५९ रन बनाए। उनलाई विराटनगरका मर्चेन्ट डे लाङ्गेले आउट गरे।
ओपनर दिनेश खरेल ६ बलमा ७ रन बनाएर दोस्रो ओभरमै आउट भए। पोखराले पावर प्लेमा राम्रो सुरुवात गरे पनि त्यसपछिका ओभरहरूमा लय गुमायो। अर्का ओपनर एडम रोसिंगटन ६ ओभरको अन्तिम बलमा शुभम रञ्जनेको शिकार बने। पोखराले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १६७ रनमा चित्त बुझायो।



कागजपत्र |
