
चितवन राइनोजको पहिलो जित, कर्णाली याक्स ४ विकेटले पराजित
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै सिजनको पहिलो जित दर्ता गरायो।
कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
चितवनका लागि विदेशी खेलाडी रवि बोपाराले ३६ बलमा ३ चौका र ३ छक्कासहित ५२ रनको अर्धशतक प्रहार गरे। सेफ जैबले ३८ रन जोडे भने ओपनर दीपक बोहराले ४२ रनको योगदान दिए। अर्का ओपनर डेविड मलान ६ रनमै पेभिलियन फर्किए। देव खनाल २ रनमा रनआउट भए भने कप्तान कुशल मल्लले २० रन जोडे।
कर्णालीका बलरमध्ये कप्तान सोमपाल कामीले २ विकेट लिए। युनिश सिंह र युवराज खत्रीले एक–एक विकेट दर्ता गरे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ओपनर प्रियांक पञ्चालको शानदार डेब्यू पारीमा १६७ रनको मध्यम लक्ष्य दिएको थियो। पञ्चालले ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रन प्रहार गरे।
ओपनरद्वय पञ्चाल र म्याक्स ओ डाउडले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए। ओ डाउड ३० बलमा २० रन बनाएर आउट भए। कर्णालीले पावरप्लेमा ५१ रन जोडे पनि त्यसपछि रनको गति सुस्तायो।
अन्तिमतिर पवन सरार्फले १६ बलमा २७ रनको तेज पारी खेले भने मार्क वाटले २१ बलमा १६ रन जोडे।
चितवनका लागि सोहेल तनवीर, सेफ जैब र रवि बोपाराले एक–एक विकेट हात पारे।



कागजपत्र |
