
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
काठमाडाैं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनको सफलतामा मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर रहेको बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले नागरिक समाजका नेताहरूलाई सम्बोधनका क्रममा आज यहाँ यस पटकको निर्वाचन असफल भए मुलुक राजनीतिक अन्योल र संवैधानिक सङ्कटमा धकेलिने उल्लेख गरिन् ।
“नागरिक समाजका नेताहरूका रूपमा तपाईंहरूले सरकार तथा दलहरूबीच विश्वासको वातावरण बनाउन र आम जनतालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्नका लागि ‘तेस्रो शक्ति’ का रूपमा सक्रिय र निर्णायक भूमिका खेल्नुहुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ,” उनले भनिन् ।
मुलुकको वर्तमान राजनीतिक अवस्थालाई निकास दिने र आसन्न निर्वाचनलाई सुनिश्चित गर्ने यस निर्णायक घडीमा नागरिक समाजका अगुवाहरुसँग प्रत्यक्ष भेटघाट गर्न पाउनु आफ्ना लागि ठूलो कुरा भएको प्रधानमन्त्री कार्कीले बताइन् ।
“मलाई थाहा छ, जब राजनीतिक दलहरूबीच अविश्वास बढ्छ, तब निष्पक्ष आवाज र समाजलाई जोड्ने सेतुका रूपमा यहाँहरूको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ,” उनले भनिन्, “यो छलफलमा यहाँहरूले राख्नुभएका समाधानमुखी धारणाहरूलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ ।”
प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा नभई संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व भएको स्पष्ट पारिन् । साथै उनले केही पक्षले सिर्जना गरेका अन्योललाई चिर्दै नागरिक समाजले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारका साथमा उभिन अनुरोध गरिन् ।
निर्वाचनको विश्वसनीयताका लागि प्रमुख दलहरूलाई यही मङ्सिर १० गतेभित्र निर्वाचन आयोगमा अनिवार्य दर्ता गराउनु आफूहरुको पहिलो र अनिवार्य सर्त भएको उल्लेख गर्दै उनले यो समयसीमा निर्वाचन सुनिश्चितताको प्रमुख सूचक भएको बताइन् ।



कागजपत्र |
