नयाँ आईजीपी दानबहादुर कार्कीः
जेनजी आन्दोलनपछि मनोबल घटेको प्रहरी संगठनलाई उठाउने कठिन जिम्मेवारी


काठमाडौं – नेपाल प्रहरीको इतिहासकै संवेदनशील घडीमा दान बहादुर कार्की देशका ३३औँ प्रहरी महानिरिक्षक –आईजीपी) बनेका छन्। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले कार्कीलाई २७ गतेबाट लागु हुनेगरी आईजीपीमा नियुक्त गरेको हो । उनको कार्यकाल ३० महीनाको हुनेछ ।

जेनजी आन्दोलनपश्चात मुलुकको सुरक्षा संयन्त्र, विशेष गरी प्रहरी संगठन, गम्भीर मनोवैज्ञानिक र संरचनागत संकटबाट गुज्रिरहेको बेला कार्कीले नेतृत्व सम्हालेका हुन्।

आन्दोलनले देशभरका प्रहरी संरचनामा गहिरो प्रभाव पारेको छ। धेरै चौकी, इलाका र कार्यालयहरू आगजनीबाट ध्वस्त भएका छन्। आज पनि धेरै ठाउँमा प्रहरी त्रिपाल र अस्थायी टेन्टमा बसेर सेवा सञ्चालन गर्न बाध्य छन्।

यस्तो अवस्थामा संगठनको मनोबल स्वाभाविक रूपमा कमजोर भएको छ। जेनजी आन्दोलनको उग्रताले प्रहरीका हातहतियार लुटपाट र फरार कैदीका घटनाहरू बढाएको छ। थुप्रै जिल्लामा जेल तोडिएका छन्, प्रहरीमाथि आक्रमण भएका छन्, र जनविश्वासमा समेत असर परेको छ।

यी चुनौतीहरूलाई नियन्त्रणमा ल्याउँदै संगठनलाई पुनःस्थापित गर्नु आईजीपी कार्कीको पहिलो परीक्षा हुनेछ । देश अब आगामी निर्वाचनको तयारीतर्फ अघि बढ्दैछ। चुनाव अवधिमा शान्ति, सुरक्षा र तटस्थता कायम गर्नु कार्कीका लागि प्रमुख चुनौती हुनेछ। कारगारबाट फरार रहेका आपराधिक गिरोह, लुटिएको हातहतियार र आन्तरिक असन्तोषबीच पनि प्रहरीलाई जनमुखी र पेशागत रूपमा सञ्चालन गर्नु उनको नेतृत्वको अर्को महत्त्वपूर्ण मापन हुनेछ।

जेनजी आन्दोलनपछि संगठनभित्र देखिएको मनोबल गिरावट, अनुशासन र विश्वास संकट पुनःस्थापना गर्नुपर्नेछ। जवानदेखि अधिकारीसम्म एकता र आत्मबल जगाउने कार्कीको शैली सफल रह्यो भने प्रहरी संगठन फेरि सशक्त रूपमा अघि बढ्न सक्छ।

साथै, प्रहरीको इन्टेलिजेन्स, अपराध अनुसन्धान र सञ्चार प्रणालीलाई सुदृढ बनाउने कार्य पनि उनको दीर्घकालीन प्राथमिकता बन्ने अपेक्षा गरिएको छ।

आईजीपी कार्कीका लागि यो कार्यकाल साधारण प्रशासनिक समय मात्र होइन, यो पुनर्जागरणको चरण पनि हो।

जेनजी आन्दोलनले दिएको घाउलाई निको पार्दै संगठनलाई स्थायित्व, विश्वास र पेशागत मर्यादातर्फ फर्काउन सके, उनको नाम प्रहरी सुधार र पुनर्निर्माणको इतिहासमा दर्ज हुनेछ।

 

 

 

प्रतिक्रिया