बालेन्द्र साह, रवि लामिछाने र कल्याण श्रेष्ठबीच सत्ताको खेल भएको थियो : ईः


काठमाडौं-  भदौ २३ र २४ गतेको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र अन्तरिम सरकार गठनको प्रक्रियाभित्र ठुलो भूराजनीतिक र स्थानीय शक्ति प्रतिस्पर्धा चलेको छ। अभियन्ता ईःले आफ्नो फेसबुक पोस्टमार्फत यसबारे खुलासा गर्दै प्रारम्भिक सरकार गठन प्रयासका मुख्य पात्र र प्राथमिकताहरू सार्वजनिक गरेका छन्।

ईःका अनुसार, सुरुमा बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउन गोलमेच सम्मेलन बोलाउने योजना थियो। तर परिस्थिति विकराल भएपछि योजना फेरियो। दोस्रो प्राथमिकतामा रवि लामिछाने थिए, तर राजनीतिक ओज कम भएपछि तेस्रो प्रयास कल्याण श्रेष्ठलाई स्थापित गर्ने दिशामा अघि बढ्यो। तर संविधानका आधारभूत विषयमा भिन्न मत भएकाले उक्त प्रयास सफल भएन।

ईःले भनेका छन्, “सर्वस्वीकार्य र सर्वविश्वासिलो व्यक्ति सुशीला कार्की बनेको कारण राजनीतिक र सैद्धान्तिक ‘भ्याकुम’ टार्न सजिलो भयो। यसमा ओमप्रकाश अर्यालको ठुलो भूमिका थियो, जसले बालेन्द्र साहलाई गृहमन्त्री बनाउन दबाब दिएका थिए। अन्य व्यक्तिहरू जस्तै राजु पाण्डे वा मीरा चौधरीको नाम पनि विकल्पमा थिए।”

ईःले भदौ आन्दोलनमा ज्यान गुमाएका युवाप्रति प्रश्न उठाउँदै भनेका छन्, “के नवयुवाको रगत यसैका लागि बगेको हो? कस्तो बिडम्बना! कस्तो निर्लज्जता!” उनले सबै पक्षलाई सचेत हुनुपर्ने, न्याय र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने र समयमा चुनाव गर्नुपर्ने जोड दिएका छन्।

ईःले स्पष्ट पारेका छन् कि भदौ आन्दोलनमा भएका अपराधको सजाय अपराधीहरूले पाउनैपर्ने हो र रक्त बगाएर, देश जलाएर गरिने राजनीति कसैलाई फाइदा नदिने भएकाले सत्य बोल्नु अति आवश्यक छ।

 

प्रतिक्रिया