
मन्त्रीको बधाई थापेका ३ ‘अभागी’हरु !
काठमाडौं – भदौ २३ र २४ को प्रदर्शनपछि गठित सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डलमा सपथको मुखैमा आएर ३ जना ‘अभागी’ सावित भएका छन् ।
जेनजी प्रदर्शनपछि गठन भएको सरकारका लागि मन्त्रीका लागि लगभग तयारी अवस्थामा रहेर सपथका लागि शितलनिवास जाने बेला हुँदै गर्दा ३ जना मन्त्री पदविमुख हुन पुगेका छन् ।
उनीहरुलाई सामाजिक सञ्जाल र प्रत्यक्ष भेट गरेर नै धेरैले बधाई दिइसकेका थिए । तर, अन्तिम समयमा विवाद देखिएपछि मन्त्री बन्न भने पाएनन् ।
यसअघि दोस्रो पटक मन्त्रीमण्डल विस्तारका क्रममा मन्त्री हुने करिब–करिब निश्चित भएकी डा. संगीता मिश्रा अन्तिम समयमा मन्त्री बन्न सकेकी थिइनन् । उनका बारेमा सामाजिक सञ्जालका साथै सञ्चारमाध्यममा भ्रष्टाचारको अनुसन्धान जारी रहेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्कीले अन्तिम समयमा सपथबाट उनको नाम हटाएकी थिइन् ।
डा. मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही कात्तिक २ गते १४ करोड बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यस्तै पछिल्लो मन्त्रीमण्डल विस्तारका क्रममा आइतबार सपथको तयारी गरिरहेका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाम पनि हटाइएको छ । सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरिसकेको र फरार रहेको साथै काजगपत्रले २३ वटा मुद्दा दायर रहेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्कीले सपथ रोकेकी थिइन् भने श्रेष्ठको पनि अन्तिम समयमा आएर सपथ रोकिएको थियो ।
अभियन्ताकै रुपमा रहेको श्रेष्ठविरुद्ध पनि केही मुद्दा रहेको खुलेपछि सपथ रोकिएको जनाइएको छ, तर त्यसको आधिकारिक पुष्टी भने भइसकेको छैन । तर, उनको सपथ भने रोकिइसकेको छ ।
मिश्रालाई अख्तियारले मुद्दा दायर गरिसकेको छ भने सुनारलाई कारबाही गर्ने प्रहरीले जनाइसकेको छ । दुई अदालतबाट पक्राउ पूर्जी जारी भइसकेका सुनारलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको पनि स्रोतले दाबी गरेको छ ।
आइतबार डा. सुधा गौतम र बब्लु गुप्ताले शितलनिवासमा आयोजित विशेष समारोहमा सपथ लिएका छन् । यससँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा १० सदस्यीय मन्त्रीमण्डल बनेको छ ।



कागजपत्र |
