नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा गिरी


काठमाडौं – तीन दशकदेखि तेक्वान्दो खेलमा सक्रिय युवा उद्यमी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन्।

संघको चितवन, सौराहामा सम्पन्न पाँचौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष दीपराज गुरुङले गिरीलाई उपाध्यक्ष पदमा नियुक्त गरेका हुन्।

वि.सं. २०४९ सालमा बालग्राम तेक्वान्दो डोजाङ, छाउनीबाट तेक्वान्दो खेल यात्रा सुरु गरेका गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्जनौँ पदक जितेका छन्। यसअघि उनी संघका केन्द्रीय सदस्य र राष्ट्रिय टिम संयोजकका रूपमा पनि जिम्मेवारी सम्हालिसकेका थिए।

गिरीले लामो समयदेखि तेक्वान्दो डोजाङ सञ्चालन गर्दै देशभरका खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन्। उनका प्रशिक्षणमा रहेका ५०० भन्दा बढी खेलाडीले ब्ल्याक बेल्ट प्राप्त गरिसकेका छन्। उनले प्रशिक्षित गरेका धेरै खेलाडी दोस्रोदेखि पाँचौँ डानसम्म पुग्न सफल भएका छन्।

तेक्वान्दो खेल आफ्नो जीवनको अभिन्न हिस्सा भएको बताउँदै उपाध्यक्ष गिरीले संघका अध्यक्षको भिजन र निर्देशनअनुसार आफूले अहिलेसम्म हासिल गरेका अनुभवका आधारमा संघका गतिविधिलाई अघि बढाउने प्रतिबद्धता जनाए।

नेपालको खेलकुद क्षेत्रमा तेक्वान्दोको विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उनले यो खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च बनाउने दृढ संकल्प व्यक्त गरे।

व्यवसायिक तथा सामाजिक क्षेत्रमा पनि सक्रिय गिरी तेक्वान्दो संघ र खेलाडीहरूलाई निरन्तर सहयोग गर्दै आएका छन्।

प्रतिक्रिया