बबरमहलको ‘एनेक्स’ भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय


काठमाडौं-  बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को ‘एनेक्स’ भवन अब काठमाडौं जिल्ला अदालतले प्रयोग गर्ने भएको छ। प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरेर उक्त भवन हस्तान्तरण गर्ने निर्णय गरेको हो।

प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीका अनुसार असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं जिल्ला अदालतलाई भवन प्रयोग गर्न दिने निर्णय गरेको हो। उक्त निर्णयमा सञ्चालक समितिका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आज हस्ताक्षर गरेकी छन्।

निर्णयमा भनिएको छ, “२०७२ भदौ २३ र २४ मा भएको प्रदर्शनका क्रममा काठमाडौं जिल्ला अदालतको भवनमा क्षति पुगेको र त्यसका कारण कार्य सञ्चालनमा अवरोध भएको हुँदा सर्वोच्च अदालत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसअनुसार तत्काल सेवा सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित मूल भवनको पूर्वतर्फको ‘ब्लक–बी’ भवन जिल्ला अदालतलाई उपलब्ध गराइनेछ।”

प्राधिकरणले अर्को व्यवस्था नहुँदासम्मका लागि यो भवन अदालतलाई प्रयोगका लागि दिने जनाएको छ। अदालत र प्राधिकरणबीच आवश्यक सम्झौता गरेर उक्त भवन प्रयोगमा ल्याइने तयारी भइरहेको अधिकारीले बताए।

काठमाडौं जिल्ला अदालतको भवन जेन–जी आन्दोलनका क्रममा आगजनीका कारण क्षतिग्रस्त भएको थियो। त्यससँगै नजिकै रहेको नागरिक उड्डयन प्राधिकरणको मुख्य भवन पनि क्षतिग्रस्त बनेको छ।

प्रतिक्रिया