Gen-Z आन्दोलनपछि ‘मोरल-डाउन’ प्रहरीलाई ‘बुस्टअप’ गर्दै एआईजी कार्की र परिसर एसएसपी थापा


काठमाडौं – Gen Z आन्दोलनपछिका सडक प्रदर्शन, प्रहरीमाथि कुटपिट, कार्यालयमा आगजनी र हतियार लुटपाटजस्ता घटनाले प्रहरी संगठनमा ठूलो मनोवैज्ञानिक दबाब सिर्जना गरेको थियो। जनविश्वासमा आएको गिरावटसँगै संगठनभित्रको मनोबल पनि प्रभावित बन्यो।

तर यतिबेला महानगरीय प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) दान बहादुर कार्की र काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) रमेश थापाले नेतृत्व गरेको ‘मोरल बुस्ट अभियान’ ले संगठनभित्र पुनः सकारात्मक ऊर्जा फैलाएको छ।

प्रहरीको आत्मबल घट्यो, नेतृत्व अघि सर्‍यो

Gen Z आन्दोलनका क्रममा धेरै स्थानमा प्रहरी चौकीमा तोडफोड, हतियार लुटपाट र प्रहरीमाथि आक्रमणका घटनाले संगठनभित्र असुरक्षा र हतोत्साह फैलिएको थियो। तर, एआईजी कार्की र एसएसपी थापाले यही परिस्थितिलाई ‘सुधार र पुनर्जागरणको मौका’ मान्दै अग्रपंक्तिमा खटिएका छन्।

एआईजी कार्कीले भने, ‘प्रहरी संगठन केवल कानूनी संयन्त्र होइन, जनताको भरोसाको संस्था हो। हाम्रो व्यवहार, संयमता र सेवाभावमै जनताको विश्वास बस्छ।’

उनले जवानदेखि अधिकृतसम्म सबैलाई इमानदारी, अनुशासन र जिम्मेवारीपूर्ण सेवाभाव का साथ काम गर्न प्रेरित गरेका छन्।

नेतृत्वले सुन्नु र बुझ्नु पर्छएसएसपी थापा

काठमाडौं परिसर प्रमुख एसएसपी रमेश थापाले पनि मातहतका अधिकृत र जवानहरूसँग निरन्तर संवाद गर्दै टोली भावना र सहकार्यमा जोड दिएका छन्।

उनले भने, ‘आदेश मात्र होइन, सुन्ने संस्कृतिले संगठन बलियो बनाउँछ। जब नेतृत्वले जवानको आवाज सुन्छ, त्यही क्षण मनोबल पुनःजागृत हुन्छ।’

थापाको अनुसार, अहिलेको चुनौतीपूर्ण परिस्थितिलाई अवसरमा रूपान्तरण गर्दै जनतासँगको विश्वास पुनःनिर्माण गर्ने नै प्रहरीको प्रमुख उद्देश्य हो।

मोटिभेसनल पोलिसिङ’बाट संगठनमा नयाँ उर्जा

दुबै अधिकारीको संयुक्त पहललाई प्रहरी संगठनभित्र ‘मोटिभेसनल पोलिसिङ’को प्रारम्भका रूपमा लिइएको छ।

अनेकौं प्रहरी वृत्त र इकाइमा ‘मोरल टक, इन्स्पिरेशन मिटिङ र पब्लिक इन्गेज्मेन्ट सेसन’ सञ्चालन भइरहेका छन्।

प्रहरी स्रोतका अनुसार, यसले संगठनभित्रको निराशा घटाउँदै कार्यप्रेरणा बढाएको छ। कतिपय प्रहरी जवानले नेतृत्वको यो पहललाई ‘उदाहरणीय कदम’ भन्दै प्रशंसा गरेका छन्।

प्रतिक्रिया