
बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघले पनि जाहेरी दियो
काठमाडौं- नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध जाहेरी दिएका छन्।
आइतबार काठमाडौं परिसर पुगेर उनीहरूविरुद्ध नेविसंघले जाहेरी दिएको हो। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू मनिश जङ थापा, अशोक सिंह बिष्ट र बिजय शाहले संयुक्तरुपमा हस्ताक्षर गरेर साहर र गुरूङविरुद्ध किटानी जाहेरी दिएका हुन्।
भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनमा सिंहदरबार,सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा तोडफोड तथा आगजनी भएको थियो।
यी घटनामा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमा जान उस्काएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी भवनमा लुटपाट गराउनमा भूमिका खेलेको ठहर गर्दै नेविसंघले मेयर शाह र गुरूङविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा किटानी जाहेरी दिएका हुन्।
यसअघि मेयर शाह र गुरूङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि उजुरी दिएको थियो।



कागजपत्र |
