विमानको पाङ्ग्रामा लुकेर १३ वर्षीय अफगानी किशोर भारत प्रवेश, कसरी सम्भव भयाे ?


काठमाडौं-  भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अचम्म लाग्दो घटना सार्वजनिक भएको छ । काबुलबाट आएको एक विमानको ल्यान्डिङ गियरमा लुकेर अफगानिस्तानका १३ वर्षीय बालक दिल्ली आइपुगेको घटना बाहिरिएको हो ।

यो घटना सेप्टेम्बर २१ तारिख बिहान करिब ११:१० बजे घटेको हो । केएएम एयरलाइन्सको फ्लाइट (RQ-4401) दिल्ली विमानस्थलमा अवतरण भएपछि विमानको वरिपरि एक बालक घुमिरहेको देखेपछि सुरक्षा कर्मचारीले उनलाई नियन्त्रणमा लिए । सोधपुछका क्रममा ती बालक अफगानिस्तानको कुन्दुज शहरका भएको र बिना टिकट नै विमानको ल्यान्डिङ गियरमा बसेर भारत आएको खुलेको हो ।

जाँचको क्रममा एयरलाइन्सको सुरक्षा तथा इञ्जिनियरिङ टोलीले ल्यान्डिङ गियर नजिकैबाट रातो रंगको सानो स्पिकर समेत बरामद गरेको थियो । यस घटनापछि बालकलाई तत्कालै सम्बन्धित निकायको जिम्मामा लगेर सोधपुछ गरिएको र सम्पूर्ण प्रक्रिया पूरा गरेपछि सोही दिन दिउँसो फर्कने फ्लाइट (RQ-4402) मार्फत पुनः काबुल पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

९४ मिनेटसम्म जीवन–मृत्युको खेल

‘द न्यू इन्डियन एक्सप्रेस’का अनुसार केएएम एयरको फ्लाइट नम्बर RQ-4401 ले काबुलदेखि दिल्लीसम्मको यात्रा ९४ मिनेटमा पूरा गरेको थियो । यसै अवधिमा ती अफगानी किशोर विमानको पछाडिको पाङ्ग्रा माथि रहेको साँघुरो ठाउँमा लुकेर बसेका थिए । विमान भारतीय समयानुसार बिहान ८:४६ बजे काबुलबाट उडेको र १०:२० बजे दिल्लीको टर्मिनल–३ मा अवतरण गरेको थियो ।

विमानसम्म कसरी पुगे ?

बालकले प्रारम्भिक बयानमा काबुल विमानस्थलमा यात्रुहरूका पछिपछि सवारी साधनमा चढ्दै रनवे पुगेको र मौका मिल्दा विमानमा चढेर उडान भर्ने बेलामा पाङ्ग्रा नजिक (व्हील वेल) मा लुकेर बसेको बताएका छन् । अधिकारीहरूले उनी नाबालक भएकाले कानुनी कारबाही नगर्ने बताएका छन् ।

ल्यान्डिङ गियरमा यात्रा : मृत्युको जोखिम

विशेषज्ञका अनुसार विमानको ल्यान्डिङ गियरको भागमा यात्रा गर्नु लगभग असम्भवजस्तै हुन्छ । उडान भरिसकेपछि त्यहाँ अक्सिजन अत्यन्तै कम हुन्छ भने तापक्रम शून्य डिग्रीभन्दा तल झर्छ । साथै पांग्राको चपेटामा परी ज्यान गुम्ने जोखिम पनि उच्च हुन्छ ।

एभिएसन विज्ञ क्याप्टेन मोहन रंगनाथनका अनुसार, टेकअफपछि पांग्रा भित्रिएको बेलामा त्यो ठाउँ पूर्ण रूपमा बन्द हुन्छ । सम्भवतः ती बालक त्यही भागमा कुनाकाप्चामा फस्दै केही समयसम्म जिवित रहे । तर ३० हजार फिट उचाइमा पुग्दा सामान्य मानिसले सास फेरेर बाँचिरहनु लगभग असम्भव हुन्छ ।

प्रतिक्रिया