
सिंहदरबारमा जेन–जी आन्दोलनका घाइतेहरूको नाराबाजी, केही नियन्त्रणमा
काठमाडौं- हालै सम्पन्न जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवाहरू आइतबार प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेपछि वातावरण तनावग्रस्त बनेको छ।
सुरुमा सिंहदरबारभित्र प्रवेश नपाएका घाइतेहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि नाराबाजी सुरु गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। घाइतेहरूले “अवसरवादी मुर्दावाद” भन्दै नारा लगाउँदै काठमाडौं महानगरका मेयर बालेन शाह र आफूलाई जेन–जी पुस्ताको नेता दाबी गर्ने “हामी नेपाल”का संयोजक सुदन गुरुङविरुद्ध आक्रोश पोखेका थिए।
उनीहरूले गुरुङलाई “जेन–जी पुस्ताको नेता मान्न नसकिने” स्पष्ट गर्दै सरकार गठनमा अवसरवादी र नक्कली आन्दोलनकारीहरू हावी भएको आरोपसमेत लगाए।
सिंहदरबार अगाडि प्रदर्शन चर्किएपछि प्रहरीले केहीलाई भ्यानमा राखेर नियन्त्रणमा लिएको थियो। तर, त्यसपछि पनि घाइतेहरूले दक्षिण गेटतर्फ धर्ना दिँदै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन्।
गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनमा ठूलो संख्यामा युवाहरू घाइते भएका थिए। उनीहरूले अझैसम्म आन्दोलनको उद्देश्य विपरीत सत्ता राजनीति भइरहेको भन्दै असन्तोष जनाएका छन्।



कागजपत्र |
