अदालतका २५ हजार मिसिलमध्ये २२ हजार जले, ३ हजार मात्र सुरक्षित


काठमाडौं – सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालत जले पनि न्यायको दीप निभेको छैन भन्ने दृढता व्यक्त गरेका छन्। आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनका अनुसार राष्ट्र नै संकटमा परेको बेला व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबै सर्वोच्च निकायहरू समेत जलेर नष्ट भएको अवस्था आएको थियो। “क्षतिका कुरा कति गरौँ, राष्ट्र नै सबै जलेको थियो। नेपाल सरकारका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनै वटै निकाय जलेका अवस्थामा थिए। तर त्यो चुनौतीलाई अवसरमा बदल्दै अघि बढ्नुपर्नेछ,” पौडेलले भने।

उनले पालैपालो भए पनि न्यायको दीप मर्न नदिने अठोटका साथ अदालत अगाडि बढिरहेको उल्लेख गरे। उनका अनुसार २९ गतेदेखि देशभरका अदालतहरूले न्यूनतम सेवा दिन थालेका छन्।

पौडेलले २५ हजार मिसिलमध्ये करिब ३ हजार मात्रै सुरक्षित अवस्थामा फेला परेको जानकारी दिए। बाँकी २२ हजार मिसिल प्राप्तिका लागि नेपाल बार एशोसिएशन र महान्यायाधिवक्ताको कार्यालयसँग सहयोग मागिने पनि उनले बताए।

त्यस्तै, सर्वोच्च अदालत आइटी सर्भरलाई पुनःस्थापना गरी पूर्ववत् सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए। न्याय सम्पादनमा मनोबल प्रमुख हुने भन्दै सुरक्षाको प्रत्याभूति दिलाएर उच्च मनोबलका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

मुख्य रजिस्ट्रारले सर्वोच्च अदालत इजलासहरू पालमुनि सञ्चालन गर्नुपरेको विडम्बनापूर्ण अवस्थाको समेत उल्लेख गरे।

प्रतिक्रिया