
दसैं नजिक कारोबार बन्द हुँदा साना लगानीकर्ता समस्यामा, भोलि खुल्ने त्यसपछि फेरी २ दिन बन्द
काठमाडौं — जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ ।
यसपटक दशैंको मुखमा आएर एक सातासम्म शेयर कारोबार बन्द हुँदा शेयर बेचेर दशैं मनाउँछु भन्नेहरुलाई साह्रै समस्या परेको देखिएको छ । कतिपय साना लगानी कर्ताहरुले दशैं खर्चका लागि शेयरबाट जोहो गर्ने योजना बनाइरहेका बेला बजार बन्द भएपछि निराश देखिएका छन् ।
नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था सहज भएपनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै आएको थियो ।
बोेर्डले मंगलबार पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो । बोर्डको निर्देशनपछि बजार नियमित सञ्चालन हुन लागेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
बिहीबार खुल्ने शेयर बजार पुनः शुक्रबार र शनिबार बन्द हुनेछ । त्यसपछि पुनः आइतबार खुल्ने शेयरबजार सोमबार घटस्थापनाका कारण बन्द हुनेछ । जसले गर्दा शेयर बिक्री गरे पनि फुलपातीसम्म खातामा पैसा नआउने सम्भावना प्रबल रहेको छ ।



कागजपत्र |
