काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीको एक नम्बरमा


काठमाडौं – पछिल्लो दुई सातायता देशैभरी वायु प्रदुषणको मात्रा ह्वात्तै बढेको छ। गत बिहीबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदुषण केही घटेपनि आइतबारदेखि फेरि प्रदुषण बढेको हो।

काठमाडौं उपत्यकासहितका केही शहरहरुमा वायु प्रदुषणले खतराको तह पार गरेपछि काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा छ।

आज काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ पुगेको छ। यो अवस्था स्वास्थ्यका लागि अत्यन्तै घातक मानिन्छ। काठमाडौंको आकाशलाई आज बिहान तुवाँले ढाकेको छ। घाम लाग्न सकेको छैन।

वातावरण विभागको तथ्याकंअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ। धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ।

त्यस्तै दोस्रो नम्बरमा चितवनको भरतपुरको एक्युआई ३९८ छ भने चौथो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ। वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) मा मापन गरिन्छ।

काठमाडौं उपत्यकाको पारदर्शिता (भिजिबिलिटी) १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसअघि पनि काठमाडौंको वायुमण्डललाई करिब एक सातासम्म तुवाँलोले ढाकेको थियो।

तुवाँलो लाग्नुको मुख्य कारण देशका विभिन्न भेगमा लागेको डढेलो रहेको विभागले जनाएको छ। वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन्।

प्रतिक्रिया