एक वर्ष विदेश बसेर फर्किएका वडाध्यक्ष, पद सम्हाल्ने प्रयासमै विवाद


दाङ- दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ करिब एक वर्ष विदेशमा वेपत्ता बसेर फर्किएपछि पुनः पद सम्हाल्ने प्रयास गर्दा कार्यपालिकामा विवाद उत्पन्न भएको छ।

गुरुङ गत वर्ष साउन २० गते बेलायत गएका थिए। उनले वडासदस्य चम्फा पुनलाई कार्यवाहक जिम्मेवारी सुम्पेर प्रस्थान गरेका भए पनि लामो समयसम्म सम्पर्कविहीन रहे। केही दिनअघि तीजको अवसर पारेर नेपाल फर्किएका गुरुङले पुरानै वडाध्यक्षको जिम्मेवारी सम्हाल्ने दाबी गरेपछि अन्य जनप्रतिनिधिले आपत्ति जनाएका हुन्।

गत शुक्रबार पालिका कार्यालयमा बसेको कार्यपालिका बैठकमा कार्यवाहक चम्फा पुन बिरामी भएर अनुपस्थित भएकाले बैठक सञ्चालनको जिम्मा वडासदस्य सुन्दर शाहीलाई दिइएको थियो। तर गुरुङले सो अधिकार आफैंलाई दिने माग गरेका थिए। गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार यसै क्रममा चर्काचर्की भएको हो।

“एक वर्षसम्म हराएको मान्छेले फर्किएर जिम्मेवारी दाबी गर्नु अनैतिक कुरा हो,” अध्यक्ष विष्टले भने, “जनप्रतिनिधिको हकमा प्रस्ट कानुन नहुँदा समस्या भएको हो। कानुनी हिसाबले उहाँ दाबी गरिरहनुभएको छ, तर नैतिकताको आधारमा जिम्मेवारी पाउनु हुँदैन।”

अध्यक्ष विष्टले गुरुङले बेलायत जाने बेला कार्यवाहक तोकेकाले त्यसलाई राजीनामासरह मानिनुपर्ने बताउँदै “वडाध्यक्षको पद पनि जागिर सरह हो, एक वर्ष हराएपछि पद स्वतः समाप्त मानिनुपर्छ, उहाँले राजीनामा दिनु नै उचित हुन्छ” भनेका छन्।

प्रतिक्रिया