
सरकारको नयाँ युवा नीति: युवाको उमेर १८–३५ वर्ष कायम
काठमाडाैं- सरकारले हालै ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत गर्दै युवाको उमेर सीमा १८ देखि ३५ वर्षसम्म कायम गर्ने निर्णय गरेको छ। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार, यसअघि लागू ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्षसम्म मानिन्थ्यो।
नयाँ नीति अनुसार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग मेल खाने गरी नेपालको सन्दर्भमा १८–३५ वर्षका जनसङ्ख्यालाई युवा मानिने उल्लेख गरिएको छ। विसं २०७८ को जनगणनाका अनुसार १६–४० वर्ष उमेर समूहको जनसङ्ख्या ४२.५६ प्रतिशत रहेको थियो। कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ नीति अनुसार युवाको जनसङ्ख्या पुनः निकाल्न आग्रह गरेका छन्।
बालबालिकासम्बन्धी ऐनअनुसार १८ वर्षसम्मलाई बालबालिका मानिने भएकाले १८ वर्षदेखि ३५ वर्ष उमेर समूहलाई युवाको रुपमा परिभाषित गरिएको हो। संयुक्त राष्ट्रसंघले १५–२४ वर्ष उमेर समूहलाई युवा मान्दछ भने भारतमा पनि यही समूहलाई युवा मान्ने प्रचलन छ।
बस्नेतका अनुसार, ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म कानुनी रूपमा युवाको उमेर १६–४० वर्ष नै रहनेछ। उनी ऐन संशोधन गरेर नयाँ नीति अनुरूप युवाको उमेर सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। युवा नीतिले प्रत्येक पाँच वर्षमा परिमार्जन गर्नुपर्ने भए पनि, यो नीति १० वर्षपछि मात्र संशोधन गरिएको छ।



कागजपत्र |
