
इजरायल–हमास वार्ता बीच गाजा कब्जा: नेतान्याहु सेनालाई निर्देशन
काठमाडौं – हालै हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजिप्टले इजरायलको जवाफको प्रतीक्षा गरिरहेको छ, तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधवार गाजा शहर कब्जा गर्ने योजना अघि बढाएका छन्। यस योजनाअनुसार १० लाख प्यालेस्टाइनीहरूलाई विस्थापित गर्ने प्रयास भइरहेको छ।
यसअघि इजरायलका रणनीतिक मामिलामन्त्री रोन डर्मरले कतारी अधिकारीहरूसँग पेरिसमा वार्ता गरेका थिए। केही प्रगतिका संकेत भए पनि नेतान्याहु हमासको प्रस्तावलाई बेवास्ता गर्दै गाजा शहरमा सैन्य कारवाही बढाउने योजनामा केन्द्रित छन्। उनले हालसम्म प्रस्ताव औपचारिक रूपमा अस्वीकार भने गरेका छैनन्।
बुधवार जारी वक्तव्यमा नेतान्याहुले सेनालाई हमासको अन्तिम गढ कब्जा गर्ने समयसीमा छोट्याउन निर्देशन दिएका छन्। उनले जगेडा सैनिक र उनका परिवारप्रति आभार प्रकट गरे। मंगलवार मात्र ६० हजार जगेडा सैनिकलाई ड्युटीमा बोलाइएको थियो।
एक वरिष्ठ इजरायली अधिकारीका अनुसार इजरायलले कतार वा इजिप्टमा टोली पठाएर वार्तामा सहभागी हुने योजना अहिलेसम्म नरहेको छ। सोमबार हमासले स्वीकृत गरेको चरणबद्ध बन्दी रिहाइ प्रस्तावमा पनि इजरायलले तत्काल प्रतिक्रिया नदिने निर्णय गरेको छ।
तर, डर्मरले मंगलवार पेरिसमा कतारी उच्च अधिकारीहरूसँग बन्दी रिहाइ र युद्धविरामबारे छलफल गरेका थिए। हमासले सबै बन्दी एकैपटक मुक्त गर्ने र सत्ताबाट हट्ने शर्त राख्दा मात्र इजरायल तयार हुने बताएका थिए।
इजिप्टका विदेशमन्त्री बद्र अब्देलातीले अमेरिकी विशेषदूतसँगको कुराकानीमा इजरायलले चाँडो प्रतिक्रिया दिनुपर्ने बताएका छन्। हमासले विटकफ फ्रेमवर्कमा आधारित सम्झौता मान्ने र १० जना जीवित बन्दी र १८ जनाको शव इजरायललाई दिने योजना बनाएको छ। यसको बदलामा इजरायलले सयौं प्यालेस्टाइनी कैदी रिहा गर्ने र ६० दिनको युद्धविराम हुने प्रस्ताव थियो।
तर नेतान्याहुको गाजा शहर कब्जा गर्ने योजना युद्धविराम प्रयासलाई बेवास्ता गरेको भन्दै हमासले विरोध जनाएको छ। गाजामा हाल ५० जना बन्दी छन्, जसमा २८ जनाको मृत्यु पुष्टि भएको छ, २० जना जीवित रहेको विश्वास गरिन्छ भने बाँकी दुईको अवस्था गम्भीर छ।



कागजपत्र |
