
मन्त्री साहको सुझाव : सामाजिक सुरक्षा भत्ता केवल गरिबलाई दिउँ
काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले सामाजिक सुरक्षा भत्ता गरिबी रेखामुनि रहेका व्यक्तिलाई मात्र उपलब्ध गराउनुपर्ने प्रस्ताव राखेका छन्।
बुधबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्री साहले वर्तमान वितरण प्रणाली नेपालको आर्थिक स्थितिले धान्न सक्दैन भन्दै यस्तो सुझाव दिएका हुन्। उनले उच्च पदस्थ व्यक्ति र उनीहरूको परिवारलाई सामाजिक सुरक्षा भत्ता किन दिनुपर्छ भन्ने प्रश्नसमेत उठाएका थिए।
मन्त्री साहले भारतमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र भए पनि मासिक ५ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिइएको उदाहरण दिँदै नेपालमा राजनीतिक दलहरूले आफ्नो फाइदाका लागि भत्तामा प्रतिस्पर्धा गर्दै आएको बताए।
उनले सामाजिक सुरक्षा भत्ता ४ हजार रुपैयाँको सट्टा ६ हजार रुपैयाँ दिन सकिने भए पनि उक्त भत्ता केवल गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई मात्र वितरण गर्नुपर्ने बताए। मन्त्री साहले भने,
“नेपालमा २० प्रतिशत मानिस मात्र गरिबी रेखामुनि छन्। सामाजिक सुरक्षा भत्ता पहिले त्यसलाई दिनुहोस्। विनोद चौधरीको आमाबुबा वा श्रीमतीलाई किन सामाजिक सुरक्षा? हाम्रो बजेटको स्थिति खराब छ। राजनीतिक दलहरूले आफ्नै फाइदाका लागि भत्ता वृद्धि गरेका छन्।”
उनले थपे, “नेपालको आर्थिक स्थिति यसलाई धान्न सक्दैन। छिमेकी भारत जस्तो विश्वको तेस्रो ठूलो अर्थतन्त्र भए पनि केवल ५ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन्छ। म भत्ता घटाउन भन्दिनँ, तर ४ हजार दिन सकिन्छ भने ६ हजार दिनुस्, तर केवल गरिबी रेखामुनि रहेका २० प्रतिशत जनतालाई।”
हाल सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपाङ्गता, लोपोन्मुख जाति, बाल पोषण भत्ता लगायतका शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ।



कागजपत्र |
