विषाक्त मदिरा सेवनका कारण कुवेतमा ६ नेपालीसहित १३ को मृत्यु, कैयाैं अस्पताल भर्ना

ज्यान गुमाउने ६ नेपालीमध्ये ५ पुरूष र एक महिला


काठमाडौं– कुवेतमा मेथानोल मिसाईएको मदिरा सेवनका कारण ६ नेपालीसहित १३ जनाको मृत्यु भइसकेको विवरण आएका छन्। कयन अस्पताल भर्ना भएका छन्।

कुवेतस्थित नेपाली श्रम सहचारीसहितका स्रोतले दिएको जानकारीअनुसार हालसम्म उच्च दरमा ७ जना भारतीयको मृत्यु भैसकेको छ।

युरोन्यूजका अनुसार कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारदेखि अस्पतालहरूले मेथानोल सम्बन्धी ६३ घटना दर्ता गरेका छन्।

शनिबारदेखि मेथानोल मिसाइएको मदिरा सेवनका कारण भएको मदिरा विषाक्तताबाट कुवेतमा १३ जना एसियालीको मृत्यु भएको कुवेती स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ।

बुधबार जारी गरेको विज्ञप्तिमा मन्त्रालयले भनेको छ कि सोही अवधिमा अस्पतालहरूले मदिरा विषाक्तताका ६३ जना बिरामीको उपचार गरेका छन्।

तीमध्ये ३१ जनालाई कृत्रिम श्वासप्रश्वास (आर्टिफिसियल रेस्पिरेशन) आवश्यक परेको, ५१ जनाले आपतकालीन डायलाइसिस सत्र पाएको र २१ जनामा स्थायी अन्धोपन वा गम्भीर दृष्टि क्षति भएको पनि मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले चेतावनी दिँदै भनेको छ,‘मेथानोल एक अत्यन्तै विषालु औद्योगिक मदिरा हो, जसको प्रयोग रसायन उद्योग तथा रंगमा हुने गर्दछ, तर यसलाई कहिल्यै पनि सेवन गर्नु हुँदैन, किनकि सानो मात्राले पनि अन्धोपन वा मृत्यु हुन सक्छ।’

विषालु मदिराको स्रोत पहिचान गर्न अनुसन्धान भइरहेको छ भने सुरक्षा निकायहरूले अवैध वितरण केन्द्रहरूमा निगरानी जारी राखेका छन्।

ज्यान गुमाउने ६ नेपालीमध्ये ५ पुरूष र एक महिला रहेको जानकारी दिइए पनि विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया