
वडाध्यक्षकै दोहोरो नागरिकता भएकाे भन्दै उजुरी
रौतहट- रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द प्रसादकाे नेपाल र भारत दुवै देशको नागरिकता भएको उजुरी परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीपछि जिल्ला प्रशासन कार्यालय रौतहटले गत साउन ७ गते छानबिन सुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार रामानन्दसँग नेपालसहित भारतको बिहार पूर्वी चम्पारनको पनि नागरिकता रहेको पाइएको छ। उनले भारतको निर्वाचन आयोगबाट मतदाता परिचयपत्र समेत लिइसकेको खुलेको छ।
नेपालमा भने उनले रौतहटबाट नागरिकता लिएका छन् र मतदाता परिचयपत्र प्राप्त गरेका छन्। नेपाल र भारत दुवैको परिचयपत्रमा एउटै फोटो प्रयोग भएको छ।
प्रशासनले छानबिनका लागि भारतस्थित नेपाली दूतावाससँग पत्राचार गरिसकेको छ। उजुरी घर मन्त्रालयमार्फत प्रशासनमा पठाइएको थियो।
तर वडाध्यक्ष रामानन्दले छानबिनमा आफू पुस्तौँपुस्ता नेपाली नागरिक भएको र दोहोरो नागरिकता नरहेको बताएका छन्।



कागजपत्र |
