कस्तो रहेछ त रवि लामिछानेलाई राखिएको ब्लक नम्बर ४ ?


भैरहवा- गत चैत २२ देखि भैरहवास्थित कारागारमा थुनामा रहेका रवि लामिछानेलाई राखिएको कोठा निरीक्षण गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली सोमबार कारागार पुगेको छ। रास्वपाका नेताहरूले लामिछानेलाई अमानवीय अवस्थामा राखिएको भन्दै आलोचना गरिरहेका बेला आयोगले ब्लक नम्बर–४ मा रहेको कोठा प्रत्यक्ष हेरेको हो।

आयोगकी आयुक्त लिली थापा, लुम्बिनी कार्यालय प्रमुख हरि ज्ञवाली र इन्सेक प्रतिनिधि रिमा बिसीसमेतको टोलीले लामिछानेसँग भेटेर कुराकानी गरेको छ। टोलीका अनुसार लामिछानेले सबैभन्दा बढी अड्डासारको विषयमा चासो देखाएका थिए। उनले अदालतले अनुमति दिए पनि कारागार प्रशासनले अड्डासारमा बेवास्ता गरेको गुनासो गरे।

इन्सेककी प्रतिनिधि बिसीका अनुसार खानपिनबारे लामिछाने सन्तुष्ट देखिएका छन्। तर, आयुक्त थापाले कोठाको शौचालयको अवस्था नाजुक रहेको बताइन्। उनका अनुसार कोठामा रेडियो र दुईवटा पंखा छन्, तर पत्रपत्रिकाको सुविधा छैन।

सार्वजनिक रूपमा लामिछानेको कोठामा एसी भएको दाबी भए पनि अनुगमन टोलीले त्यस्तो नरहेको पुष्टि गरेको छ। आयुक्त थापाले लामिछानेलाई करिब सय दिनसम्म बाहिर हिँडडुल गर्न नदिएको, झ्याल थुनेको र यसले स्वच्छ हावामा बस्ने अधिकार खोसिएको बताइन्।

प्रतिक्रिया