
प्रहरीले पतिसँग सम्झौता गराएको भोलिपल्टै मृत भेटिएकी थिइन् कञ्चनपुरकी सम्झना
कञ्चनपुर – कञ्चनपुरमा एक युवतीलाई यातना र मानसिक तनाव दिई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेल्डाँडी गाउँपालिका–२ का २४ वर्षीय पवन भट्ट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार १७ वर्षीया सम्झना भट्टलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा श्रीमान् पवनलाई किटानी जाहेरीको आधारमा पक्राउ गरिएको हो। सम्झना आइतबार आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
छ महिनाअघि प्रेम विवाह गरेका पवन र सम्झनाबीचको सम्बन्ध पछिल्ला दिनमा अत्यन्त तनावपूर्ण बनेको खुल्न आएको छ। जाहेरीमा उल्लेख भएअनुसार पवनले सम्झनालाई बारम्बार कुटपिट गर्दै मानसिक यातना दिने, अन्य महिलासँगको सम्बन्ध देखाएर झन् तनावमा पार्नेजस्ता गतिविधि गर्दै आएका थिए।
सम्झनाले आत्महत्या गर्नुअघि एक जना साथीलाई वाट्सएप म्यासेज पठाएर श्रीमान्को कुटपिट र तनावबारे उल्लेख गरेकी थिइन्। म्यासेजमा उनले लेखेकी थिइन्, “अब सहन सक्दिन, म मर्छु।”
प्रहरीका अनुसार सम्झना मृत्यु हुनु अघिल्लो दिन मात्रै इलाका प्रहरी कार्यालय बेल्डाँडी पुगेकी थिइन्। त्यहाँ उनले श्रीमान्ले कुटपिट गरेको उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले दुवैलाई बोलाई छलफल गराई पवनलाई भविष्यमा कुटपिट नगर्ने सर्तमा छोडेको थियो। तर भोलिपल्ट बिहान सम्झना मृत अवस्थामा भेटिइन्।
सम्झनाका पारिवारिक स्रोतका अनुसार उनी १३ वर्षको उमेरदेखि पवनसँग प्रेम सम्बन्धमा थिइन्। सम्बन्ध सार्वजनिक भएपछि दुवैले प्रेम विवाह गरेका थिए। तर विवाहपछिका दिनहरूमा सम्झना निरन्तर पतिको कुटपिट र मानसिक पीडाको शिकार बनिन् भन्ने परिवारको दाबी छ।
हाल शव परीक्षणका लागि सम्झनाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। अदालतबाट पवन भट्टलाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
