रेशम थुनाउने महिमानलाई धरौटीमा छाड्ने आदेश उच्चबाट सदर


काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेखेका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ।

बिहीबार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौँको अघिल्लो आदेशलाई सदर गरेको हो। यसअघि जेठ ५ गते जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए।

उक्त आदेशविरुद्ध रेशम चौधरी र महिमान सिंह विष्ट दुवैले छुट्टाछुट्टै निवेदन लिएर उच्च अदालतमा पुनरावलोकन माग गरेका थिए। तर, उच्च अदालतले जिल्ला अदालतको आदेश वैधानिक र युक्तिसंगत रहेको ठहर गर्दै त्यसलाई यथास्थितिमा राखेको हो।

विष्टले अनधिकृत रूपमा लेखेको पत्रका आधारमा प्रहरीले रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको थियो। तर, सो पत्र आधिकारिक नभएको अदालतले स्पष्ट गरेपछि चौधरीलाई सोही दिन रिहा गरिएको थियो।

महिमान सिंहविरुद्ध त्यही अनधिकृत पत्र लेखेको अभियोगमा लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो।

प्रतिक्रिया