
‘नेपालमै मेसी–रोनाल्डोलाई उछिन्ने खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौँ’
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीभन्दा पनि उत्कृष्ट फुटबलर उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन्।
बिहीबार अखिल फिफाअन्तर्गत नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वस्तरीय खेलाडी उत्पादनका लागि नेपाल सक्षम रहेको धारणा राखे।
“हामीले पेलेदेखि लिएर मेसी, रोनाल्डो, एम्बाप्पेजस्ता खेलाडीहरूसँग तुलना गर्न सक्ने र तिनलाई उछिन्न सक्ने क्षमताका खेलाडी नेपालमै उत्पादन गर्ने लक्ष्य लिएका छौँ,” प्रधानमन्त्री ओलीले कार्यक्रममा भने।
उक्त परियोजना सञ्चालनका लागि एन्फाले फिफाबाट ५० हजार अमेरिकी डलर प्राप्त गरिसकेको छ। परियोजनाअन्तर्गत देशभरका १,०७२ विद्यालयमा ३२ हजार ६४० वटा फुटबल वितरण गरिनेछ। एन्फाका अनुसार कार्यक्रम १२ देखि १६ वर्ष उमेर समूहका विद्यार्थीहरू लक्षित गरी सञ्चालन हुनेछ।



कागजपत्र |
