भूकम्पले सन्तान गुमाएकी पार्वतीलाई जीवनको ठूलो उपहार, एनसेलबाट एक करोड


काठमाडौं- एनसेलले सञ्चालन गरेको ‘सधैँ अन करोडपति’ योजनाअन्तर्गत धादिङकी पार्वती कार्कीले एक करोड रुपैयाँको बम्पर पुरस्कार जितेकी छन्। कम्पनीले असार १ देखि ३२ गतेसम्म सञ्चालन गरेको योजनामा उनी विजेता बनेकी हुन्।

कार्कीले झन्डै आठ वर्षदेखि एनसेल सिम प्रयोग गर्दै आएकी थिइन्। असारको तेस्रो साता ९९ रुपैयाँको ‘बेसिक रिन्युअल’ प्याक किनेर योजना सहभागी भएकी थिइन्।

२०७२ सालको विनाशकारी भूकम्पमा कार्कीले एक महिना दुई दिनको कान्छो छोरा गुमाएकी थिइन् भने घरसमेत भत्किएको थियो। आर्थिक संकटले पिरोलिएकी उनले ऋण लिएर श्रीमान्‌लाई वैदेशिक रोजगारीमा पठाएकी थिइन्। उनी हाल गाउँमा खेतीकिसानी गर्दै महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा समेत काम गरिरहेकी छन्।

शुक्रबार एनसेलको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले कार्कीलाई नगद एक करोड रुपैयाँ हस्तान्तरण गरे। पुरस्कार बुझ्दै कार्कीले भावुक हुँदै भनिन्, “मैले जीवनमा कैयौँ दुख झेलेकी हुँ, तर कहिल्यै हार खाइनँ। यो पुरस्कार मेरो संघर्षको नतिजा हो।”

बम्पर विजेता कार्कीबाहेक योजना अन्तर्गत अन्य ५० जना ग्राहकले साप्ताहिक रूपमा जनही एक लाख रुपैयाँ जितेका छन्। नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा १२ हप्ताका लागि घोषणा गरिएको योजना पाँचौँ हप्ता साउन १ गते नै बन्द गरिएको थियो।

प्रतिक्रिया