ओल्ड ट्राफर्ड टेस्टमा ऋषभ पन्त घाइते, भारतलाई झट्का


काठमाडौं — म्यानचेस्टरको ओल्ड ट्राफर्ड मैदानमा भारत र इंग्ल्यान्डबीच जारी चौथो टेस्टको ६८ औँ ओभरमा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त गम्भीर रूपमा घाइते भएका छन्। चोटका कारण टिम इन्डियाले बलियो स्थितिमा पुग्ने लक्ष्यमा अचानक झट्का खेप्नुपरेको छ।

पन्त इंग्ल्यान्डका क्रिस वोक्सको योर्कर लेन्थ बलमा रिभर्स स्वीप खेल्ने प्रयास गर्दै गर्दा चोट लागेका हुन्। बल खुट्टामा लागेपछि उनी निकै पीडामा देखिए। फिजियोको सहायतामा मैदान छाड्न खोजे पनि अवस्था गम्भीर भएपछि अन्ततः उनलाई गल्फ बग्गी बोलाएर मैदानबाट बाहिर लगिएको थियो।

त्यसअघि उनले ४८ बलमा ३७ रन बनाइसकेका थिए। चोटका कारण पन्तको दाहिने खुट्टाको कान्छी औंलानजिकै गहिरो चोट लागेको र रगत बगिरहेको देखिएको थियो। त्यस स्थानमा सुन्निने लक्षण देखिएपछि उनलाई तत्कालै अस्पताल लगिएको र स्क्यान गरिएको बीसीसीआई स्रोतले जनाएको छ।

टेस्टको पहिलो दिन भारतले चार विकेट गुमाउँदै २६४ रन बनाएको छ। खेल सकिँदासम्म शार्दुल ठाकुर र रवीन्द्र जडेजा क्रिजमा क्रमशः १९–१९ रनमा खेलिरहेका छन्।

प्रतिक्रिया