साफ यू–२० महिला च्याम्पियनसिपः नेपाल निर्णायक खेलमा बंगलादेशसँग ४–० ले पराजित


काठमाडौ‌ — साफ यू–२० महिला च्याम्पियनसिपमा बंगलादेशविरुद्धको निर्णायक खेलमा नेपाल पराजित भएको छ । ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा सम्पन्न खेलमा नेपाल ४–० गोलले पराजित भएको हो ।

नेपाल प्रतियोगितामा बंगलादेशसँग लगातार दोस्रोपटक पराजित बन्यो । यसअघि नेपाल आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धात्मक खेलमा २–३ गोलले स्तब्ध बन्न पुगेको थियो ।

बंगलादेशका लागि चारवटै गोल जर्शी नम्बर १० कि सागोरिकाले गरेकी थिइन् । नेपाल पहिलो हाफमा १–० गोलले पछि परेको थियो । सुरुवातमा सम्हालिन नसकेको नेपाल आठौँ मिनेटमा नै पछि परेको थियो । मोसामोत सागोरिकाले घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन् । नेपालले दोस्रो हाफमा थप ३ गोल खानपुग्यो ।

यसपटक प्रतियोगिता ४ सहभागी राष्ट्रबिच डबल राउन्ड रोबिन आधारमा खेलाइएको थियो । सबै खेल सकिएपछि शीर्ष स्थानमा रहेको बंगलादेश च्याम्पियन बन्न सफल भयो ।

नेपाल ६ खेलबाट १२ अङ्कसहित तालिकामा दोस्रो स्थानमा सीमित रह्यो । आयोजक बंगलादेश ६ खेलबाट १८ अङ्क बटुल्दै शीर्ष स्थानमा छ ।

प्रतिक्रिया