दार्चुलाको टिङ्कर नाका ३ दिनका लागि खुल्दै


दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने नेपाल–चीन सीमानाका साउन ७ देखि ९ सम्म खुल्ने भएको छ।

चीनको तिब्बतस्थित ताक्लाकोटमा रहेको स्थानीय प्रशासनले छाङरु र टिङ्करका व्यापारीलाई नाका खुल्नेबारे जानकारी गराएपछि टिङ्करभन्ज्याङ १ नम्बर पिल्लर सीमानाका खुल्ने भएको हो। नाका खुल्ने भएपछि यहाँका व्यापारी व्यापार व्यवसायका लागि चीनको ताक्लाकोट जाने तयारीमा छन्।

नेपाल–चीन ताक्लाकोट नाका खुल्नेबारे त्यहाँको स्थानीय प्रशासनले आफूलाई जानकारी गराएको तथा आफूले दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई जानकारी गराएको व्यास गाउँपालिका–१, छाङरुका स्थानीय व्यापारी एवं नेपाल–चीनमैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहराले बताए। तर, प्रमुख जिल्ला अधिकारी पौडेलले भने आफूलाई तिब्बत प्रशासनको आधिकारिक पत्र प्राप्त नभएको बताए।

व्यापारीले ताक्लाकोट बजारमा व्यापार गर्ने गरेको बोहोराले बताए। नाका खुल्ने भएपछि व्यापारीले ताक्लाकोट लैजाने आआफ्ना सामान तयारी अवस्थामा राखेको बताइएको छ। ७० देखि ८० जना नेपाली व्यापारीले ताक्लाकोटमा नेपाली र भारतीय सामानको व्यापार गर्ने गरेको उनले बताए।

प्रतिक्रिया