
भारत र नेपालबीच पाँचवटा विकास परियोजनाका लागि समझदारी
काठमाडौं — भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँच उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
समझदारीपत्रमा काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित स्थानीय कार्यान्वयन निकायबीच हस्ताक्षर भएको हो।
झण्डै ३९ करोड रुपैयाँ लागतमा सञ्चालन गरिने यी योजनाअन्तर्गत विभिन्न जिल्लामा विद्यालय भवन, पुस्तकालय, छात्रावास तथा अस्पताल निर्माण गरिनेछ।
सम्झौताअनुसार, धनुषाको बटेश्वर गाउँपालिका–३ मा श्री जनशक्ति माध्यमिक विद्यालय भवन, पर्साको पोखरिया नगरपालिकामा श्री महोवनी पद्म माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकामा श्री बासुकी माध्यमिक विद्यालय, बाराको प्रसौनी गाउँपालिका–२ मा बेंगा साह माध्यमिक विद्यालय, छात्रावास र पुस्तकालय, तथा मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शैयाको अस्पताल भवन निर्माण गरिनेछ।
यी सबै परियोजना सम्बन्धित स्थानीय तहको सहकार्यमा कार्यान्वयन गरिने छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्वाधार विस्तार गर्दै स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुगोस् भन्ने उद्देश्यका साथ योजनाहरू अघि बढाइएको हो।
सन् २००३ यता भारतले नेपालमा ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि सारेको छ, जसमध्ये ४९६ परियोजना पूरा भइसकेका छन् भने बाँकी विभिन्न चरणमा कार्यान्वयनमा रहेका छन्।



कागजपत्र |
