जुन कक्षामा पढाउँथिन्, त्यही मृत फेला परिन् शिक्षिका


जनकपुरधाम – जुन कक्षामा बालबालिकालाई पढाउँदै आएकी थिइन्, सोही कक्षाकोठामा शिक्षिका झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

धनुषाको मिथिला नगरपालिका–८, जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयको बाल विकास कक्षाकोठामा ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर मृत अवस्थामा भेटिएकी हुन्। उनी सोही कक्षामा अध्यापन गराउँदै आएकी थिइन्।

साउन १ गते बिहान करिब ४:४५ बजे उनी विद्यालय परिसरमै झुन्डिएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक मगरले जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय राजकिशोर यादवसँग मिटरब्याजमा ऋण लिएकी थिइन्। यादवले उच्च ब्याज दरमा रकम असुली गर्न दबाब दिँदै आएका थिए भन्ने प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

प्रहरीले घटनास्थल नजिकै रहेको मगरको स्कुटी (ज ११ प ७४९२) को डिक्कीबाट सुसाइड नोट समेत फेला पारेको जनाएको छ। उक्त नोटमा मिटरब्याजी यादवसँग लिएको ऋण र मानसिक तनावको विषय उल्लेख गरिएको बताइएको छ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार मृतकले यादवसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएकी थिइन्। उनीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा साउन २ गते पक्राउ गरी मुद्दा चलाइएको छ।

मृतक शिक्षिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाले स्थानीय स्तरमा शोक र आक्रोश फैलिएको छ। यता, घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग समेत उठेको छ।

प्रतिक्रिया