
इटहरीमा खोलामा डुबेर दुई बालकको ज्यान गयो
इटहरी – इटहरी उपमहानगरपालिका–२ स्थित टेङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा आइतबार दिउँसो दुई बालकको डुबेर मृत्यु भएको छ।
दिउँसो करिब २ः५० बजे खोलामा डुबिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी र स्थानीयवासीको सहयोगमा बालकहरूलाई उद्धार गरी विराट टिचिङ अस्पताल लगिएको थियो।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार, उपचारका क्रममा दिउँसो करिब ४ बजेतिर दुवै बालकको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो।
मृत्यु हुनेमा संखुवासभा चैनपुर–१ का ११ वर्षीय क्रिवास लिम्बू र इटहरी–३ का ८ वर्षीय दिप्सन चौधरी रहेको प्रहरीले जनाएको छ। क्रिवास हाल इटहरी–२ मा सानिमाको घरमा बस्दै आएका थिए।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।



कागजपत्र |
