
यू-२० साफ च्याम्पियनसिपः मीनाको ह्याट्रिकसँगै श्रीलंकाविरूद्ध ७-०ले नेपाल विजयी
काठमाडौं– मिना देउवाको ह्याट्रिकसँगै बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध ७–० को शानदार जित हात पारेको छ ।
निर्धारित समयभन्दा एक घन्टा ढिला सुरु भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध शानदार जित हात पारेको हो । नेपालले पहिलो हाफमै ५ गोलले अग्रता लिएको थियो । नेपालका लागि मीना देउवा र पूर्णिमा राईले समान २ गोल गरेका थिए भने १ गोल समीक्षा मगरले गरेकी थिइन् ।
खेलको सातौं मिनेटमै नेपालले अग्रता लियो । मीनाले पेनाल्टी बक्सभन्दा निकै बाहिरबाट प्रहार गरेको शक्तिशाली बलले सिधै जाली चुम्यो । त्यसको ६ मिनेटपछि नै नेपालले समीक्षाको गोलमा अग्रता दोब्बर बनायो । मीनाले दिएको बललाई हुलमुलमा पूर्णिमाको खुट्टासामु पुगेको थियो । पेनाल्टी बक्सभित्रै रहेकी समीक्षाले दोस्रो बारतर्फ सुन्दर फिनिसिङ गरिन् ।
समीक्षाले कप्तान विर्सना चौधरीको स्थानमा सुरुआती ११ मा स्थान बनाएकी थिइन् । जारी प्रतियोगितामा यो उनको पहिलो गोल हो । ४२औं मिनेटमा मीनाले अग्रता ३–० मा पु¥याइन् । माया मास्केको लामो प्रहारलाई श्रीलंकाली गोलकिपरले पञ्च गर्दै बचाएकी थिइन् । तर, सिक्स यार्ड बक्सनजिकबाट रिबाउन्डमा मीनाले अर्को गोल थपिन् ।
त्यसपछि नेपालको प्रेसिङलाई श्रीलंकाले रोक्न सकेन र पहिलो हाफको इन्जुरी समयमा थप दुई गोल गर्दै पहिलो हाफमा ५–० गोलले अग्रता लिएको थियो ।
त्यसपछि दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन श्रीलंकाविरुद्ध खेलको ६९ औं मिनेटमा नेपालले एक गोल थप्यो । मीना देउवाले गरेको उक्त ह्याट्रिक गोलसँगै नेपालले अग्रतालाई ६–० मा पु¥याउन सफल रह्यो । सरिता कुमारीले खेलको ९१ औं मिनेटमा फ्रिकिकमार्फत् गोल गर्दै गोलअन्तरलाई अझै फराकिलो पार्न सफल भयो । निर्धारित ९० मिनेटपछि थपिएको ५ मिनेटको इन्जुरी समयको पहिलो मिनेटमै सरिताले गोल गरेकी हुन् । त्यसपछि भने खेलमा कुनै गोल भएन ।
त्यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ ले पराजित गरेको थियो भने घरेलु टोली बंगलादेशसँग ३–२ले पराजित भएको थियो ।



कागजपत्र |
