आज हरिशयनी एकादशी, तुलसीको विरुवा रोपिँदै


काठमाडौं – आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी। आइतबार सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गर्दैछन्।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ। आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ। धेरै अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको महत्त्व छ।

आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि त्यसै पूर्णिमामा चतुर्मास सम्पन्न हुने धर्मशास्त्री प्राडा देवमणि भट्टराई बताउँछन्।

आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन। यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत-उपवास र पूजापाठलाई महत्त्व दिइन्छ।

वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्व दिइन्छ। वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन्।

आइतबार ३८ घडी ३३ पला अर्थात् बेलुकी ८ बजेर ४० मिनेटसम्म एकादशी तिथि रहेको पञ्चांगमा उल्लेख छ।

 

प्रतिक्रिया