धरानमा श्रमदानका बेला १२ वर्षीया बालिकामाथि दुर्व्यवहार, एक पक्राउ


सुनसरी  – धरान-१६ मा श्रमदानको क्रममा १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राई पक्राउ परेका छन्। घटनाका बेला धरान बहुभाषिक पाठशालाको निर्माणमा श्रमदान चलिरहेको थियो।

राई श्रमदाताहरूका लागि खाना पकाउने जिम्मेवारीमा थिए। पीडित बालिका आमासँग श्रमदानमा गएकी थिइन्। त्यस क्रममा राईले बालिकालाई खोल्सातिर लगेरे हातपात गर्न खोजेको आरोप छ। पीडित पक्षले किटानी जाहेरी दिएपछि धरान-१७ पृथ्वीचोकका राईलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले जानकारी दिए।

पीडकलाई जोगाउन सहयोग गरेको भन्दै श्रमदाता कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध पनि किटानी जाहेरी परेको छ। श्रेष्ठले घटना ढाकछोप गर्न दबाब दिएको पीडित पक्षको आरोप छ।

घटना दुई महिना पुरानो भए पनि हालै मात्र सार्वजनिक भएको हो। प्रहरी चौकी भवन निर्माणको विषयमा स्थानीय विवाद चर्किँदा दुर्व्यवहारको घटना बाहिरिएको हो।

धरानका मेयर हर्क साम्पाङले यो विषय श्रमदान अभियान बदनाम गर्न उछालिएको दाबी गरेका छन्। घटनाबारे सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै उनले दोषी उम्किन नहुने र निर्दोष फस्न नहुने बताएका छन्।

प्रतिक्रिया