भुटानविरुद्ध नेपाल २९८ रनले विजयी


काठमाडौं — मलेशियामा जारी यू–१६ इस्ट जोन कपमा नेपालले भुटानविरुद्ध शानदार जित हात पारेको छ ।

विशाल ३५९ रनको लक्ष्य पछ्याएको भुटानलाई ६० रनमा आउट गरेपछि नेपालले भुटानविरुद्ध २९८ रनको जित हात पारेको हो ।

भुटानका लागि छेजाङ दावाले सर्वाधिक १४ रन बनाएका थिए भने उगेन केल्जाङ छोफेलले १० रन बनाएका थिए । ती बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
नेपालका लागि सुयोग भट्टराई र सचिव भट्टले २/२ विकेट लिएका थिए

नेपालका लागि कप्तान विपिन शर्माले १० ओभरमा ७ रन दिएर ४ विकेट लिएका थिए ।

त्यसअघि नेपालका लागि रौनक श्रीवास्तवले शानदार १६८ रनको पारी खेल्दै भुटानलाई ठूलो लक्ष्य प्रस्तुत गरेका थिए ।

टस जितेर ब्याटिङ रोजेको नेपालले खराब सुरुवात गर्दै १७ रनमै दुई विकेट गुमाएको थियो । ओपनर परिमार्जन यादव पहिलो ओभरमै आउट भए भने उत्कृष्ट फर्मममा रहेका प्रसिद्ध जैसी पनि चलेनन् । जैसीले १४ बलमा ७ रन मात्र जोड्न सके । त्यसपछि तेस्रो विकेटका लागि श्रीवान्स बजगाईँ र रौनक श्रीवास्तवबीच बलियो साझेदारी भयो ।

यो जोडीले नेपाललाई १०७ रनसम्म पुर्‍याएको थियो । श्रीवान्स ५२ बलमा ५४ रन बनाएर आउट भए । त्यसपछि सुगम बुढाथोकीले रौनकलाई साथ दिए । यो जोडीले नेपालको स्कोर १८० रन सम्म पुर्‍यायो । सुगम ३५ रनमा आउट भए ।

पाँचौं विकेटका लागि रौनकले जोय थापासँग १७० रनको म्याराथन साझेदारी गरे । नेपाललाई ३५० रनको मजबुत स्थितिमा पुर्‍याएर रौनक अन्तिम ओभरमा आउट भए । जोय थापाले अर्धशतक बनाएर अविजित रहे ।

रौनकले बनाएको १६८ रन कुनै पनि उमेर समूहको अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटरले बनाएको उच्च व्यक्तिगत स्कोर हो ।

भुटानका लागि सञ्जय दोर्जीले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया