
कतारको प्रतिक्रिया: इरानी आक्रमणले सार्वभौमिकता उल्लंघन
एजेन्सी- इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामाथि गरिएको आक्रमण कतारसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सोमबार सामाजिक सञ्जाल एक्समार्फत उक्त आक्रमण आत्मरक्षाको कदम भएको बताए।
उनले इरानले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धमा ‘असल छिमेकी’ नीतिप्रति प्रतिबद्धता जनाउँदै, “अमेरिका र इजरायलको दुर्भावनापूर्ण नीतिबाट क्षेत्रीय मित्रता कमजोर पार्न दिइने छैन,” भने।
कतारले भने उक्त आक्रमणप्रति कडा आपत्ति जनाएको छ। कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले संयुक्त राष्ट्रसंघका महासचिवलाई पत्र पठाउँदै आक्रमण अन्तर्राष्ट्रिय कानुन र कतारको सार्वभौमिकताको गम्भीर उल्लंघन भएको बताएका छन्।
कतारको वायु सुरक्षा प्रणालीले इरानबाट प्रक्षेपित मिसाइलहरू अवरोध गरी ठूलो क्षति हुनबाट जोगाएको बताइएको छ। आक्रमणमा कुनै हताहत नभएको पनि कतारी पक्षले जानकारी दिएको छ।



कागजपत्र |
