प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश राणासहित तीन जनाको इजलाशमा, के हुन्छ?


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनको निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित तीन जनाको इजलाशमा सुनुवाई हुने भएको छ।

विहीबार हुन लागेको सुनुवाई राणासहित न्यायाधीश तेजबहादुर केसी र प्रकाश ढुंगानाले गर्नेछन्। २३ फागुनमा बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई दिँदै एमाले र माओवादी ब्युँताइदिएको थियो।

यसमा असन्तुष्ट रहेका प्रचण्डले पुनरावलोकनका लागि निवेदन दिएका थिए। सर्वोच्च अदालतले राजनीतिक रुपमा फैसला रिट निवेदकले मागेभन्दा बढी गरेको भन्ने थियो।

तर संविधानविदहरुले भने सर्वोच्च अदालतले रिट निवेदकले मागे जति मात्र नभएर आवश्यकताका आधारमा फैसला गर्न सक्ने बताएका छन्। संविधानविद विपिन अधिकारीले सर्वोच्चले त्यसो गर्न सक्ने बताएका हुन्। यस हिसाबले प्रचण्डको पुनरावलोकनसम्बन्धी निवेदन आवश्यक ठहर नहुन सक्ने समेत बताइन्छ।

सर्वोच्चको फैसला जायज रहेको भन्दै तीन जनाको इजलाशले प्रचण्डको निवेदनमाथि आदेश वा फैसला सुनाउन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया