९७ वर्षीया लालुदेवी भट्टलाई घरमै नागरिकता


दार्चुला- सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने भारतसँग सीमाना जोडिएको दार्चुलाको व्यास गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको घरमै पुगेर नागरिकता र राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामी नेतृत्वको टोलीले अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर सेवा दिएको हो। टोलीले व्यासका वडा नं ३, ४, ५ र ६ मा यो अभियान सञ्चालन गरेको थियो।

जनतालाई घरदैलोमै सेवा पुर्याउने उद्देश्यअनुरूप पायक पर्ने स्थानमै पुगेर नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिए। सो क्रममा व्यास-६ की ९७ वर्षीया लालुदेवी भट्टले घरमै नागरिकता पाउँदा खुसी लागेको बताइन्।

टोलीले कुल १६१ जनालाई नागरिकता र २०५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो। नागरिकता पाउनेमा १३८ जना ज्येष्ठ नागरिक र दुई जना अपाङ्गता भएका व्यक्ति रहेका थिए। राष्ट्रिय परिचयपत्र पाउनेमा १९७ जना ज्येष्ठ नागरिक र पाँच जना अपाङ्गता भएका व्यक्ति छन्।

गाउँपालिकाको आग्रहमा घरमै पुगेर नागरिकता र परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले बताए।

प्रतिक्रिया