

पोखरा विमानस्थलमा भ्रष्टाचारको ट्रेलर मात्रै, भैरहवामा मुख्य फिल्म : प्रेम आले

काठमाडौं— पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको आरोप नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले लगाएका छन्।
बुधवार बसेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद आलेले प्रारम्भिक लागत १४५ मिलियन अमेरिकी डलर रहेको विमानस्थलको लागत एक्कासि २१६ मिलियन डलर पुर्याइएको र सोही क्रममा ७१ मिलियन डलर (१० अर्बभन्दा बढी नेपाली रुपैयाँ) खुला भ्रष्टाचार गरिएको दाबी गरे।
उनले २०१७ को महत्वपूर्ण फ्लाइट प्रोसीजर डिजाइन हालसम्म प्राप्त नभएको र अर्थ मन्त्रालयबाट करसम्बन्धी विवरणसमेत नआएको जनाउँदै कागजात माग गर्दा पनि विवरण अपुरो आउने गरेको गुनासो गरे।
“सार्वजनिक लेखा समितिको प्रभावकारिता दिनप्रतिदिन घट्दो छ जस्तो देखिएको छ,” सांसद आलेले भने। “गाउँपालिकाले ५० लाख लगानी ल्याउँदा पनि खरिद ऐन पालना गर्नुपर्छ भने १० अर्ब रुपैयाँ वार्ताबाट खर्च गर्नु गम्भीर लापरवाही हो।”
आफ्नो भनाइमा उनले पोखरा विमानस्थलमा भ्रष्टाचारको “ट्रेलर” देखिएको भन्दै अब भैरहवामा “मुख्य फिल्म” हेर्न पाइने चेतावनीसमेत दिए।

